मोरङको बुढीगंगामा १०० करोडको लगानीमा अत्याधुनिक औषधि उद्योग, ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनको अन्तिम चरणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

मोरङ, वैशाख १६
मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बाइपास सडकमा निर्माणधीन ‘एलेक्सा लाइफसाइन्सेज प्रालि’ औषधि उद्योग अब पूर्णरूपमा सञ्चालनको तयारीमा पुगेको छ। विश्व स्वास्थ्य संगठन (WHO) को औषधि उत्पादन मापदण्ड र अन्तर्राष्ट्रिय स्तरका सुरक्षा–गुणस्तरका मान्यताहरू पालना गर्दै निर्माण भइरहेको यो उद्योगमा हालसम्म ७५ करोड रुपैयाँ लगानी भइसकेको र पूर्ण सञ्चालनका लागि थप २५ करोड लगानी आवश्यक रहेको अध्यक्ष दिनेश ठाकुरले जानकारी दिएका छन्।

औद्योगिक पूर्वाधारको हिसाबले अत्याधुनिक प्रविधियुक्त प्लान्ट निर्माणको अन्तिम चरणमा पुगेको उक्त उद्योगमा एभरेस्ट बैंक लिमिटेड, दुबई शाखाको वित्तीय ऋण समेत रहेको छ। अध्यक्ष ठाकुरका अनुसार, नेपालमै उच्च गुणस्तरका औषधिहरू उत्पादन गरी आम नेपालीले सर्वसुलभ मूल्यमा औषधि प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यो उद्योग स्थापना गरिएको हो।

तीन चरणमा उत्पादन प्रक्रिया, सयौंलाई रोजगारी

एलेक्सा लाइफसाइन्सेजले औषधि उत्पादनलाई तीन चरणमा विभाजित गरेको छ। पहिलो चरणमा अत्यावश्यक मानिने स्लाइन (LVP), दोस्रो चरणमा SVP सुईजन्य औषधिहरू (१ एमएलदेखि २० एमएल सम्म), र तेस्रो चरणमा आँखा तथा कानका ड्रप उत्पादन गरिनेछ। यस उद्योग सञ्चालनमा आएपछि २०० जना प्रत्यक्ष र ५०० जना अप्रत्यक्ष रूपमा रोजगारीमा आवद्ध हुनेछन्।

सञ्चालक रञ्जित भगतका अनुसार, स्लाइन पानी उत्पादन प्रक्रिया अत्यन्त संवेदनशील विधा हो र त्यसमा गुणस्तरमा कुनै सम्झौता गर्न मिल्दैन। “हामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार अत्याधुनिक मेसिनरी र प्रविधि प्रयोग गरेका छौँ,” उनले बताए, “नेपालको औषधि उद्योगमा यो एक ऐतिहासिक माइलस्टोन हुनेछ भन्ने विश्वास लिएका छौँ।”

नेपालमा आत्मनिर्भरता तर्फको कदम

हाल नेपालमा औषधि बजारको वार्षिक कारोबार करिब ६० अर्ब रुपैयाँको रहेको छ, जसको करिब ६० प्रतिशत हिस्सा विदेशी कम्पनीले ओगटेका छन्। औषधि व्यवस्था विभागमा १०० भन्दा बढी उद्योग दर्ता भए पनि करिब ७५ मात्र सक्रिय छन्। स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने स्पष्ट नीति अभावका कारण २०–२५ कम्पनीको मात्र अवस्था सन्तोषजनक रहेको ठाकुर बताउँछन्।

“विदेशी आयातले बजार कब्जा गर्दा स्वदेशी उत्पादनहरू प्रतिस्पर्धाबाट पछाडि परिरहेका छन्,” उनले भने, “यस्तो अवस्थामा एलेक्सा जस्ता उद्योगहरूले आत्मनिर्भरता, रोजगारी सृजना र आयात प्रतिस्थापनमा ठूलो टेवा पुर्‍याउने छन्।”

नीति संरचनागत चुनौती

अध्यक्ष ठाकुरले औषधि उद्योगले भोग्दै आएको समस्याहरूप्रति पनि ध्यानाकर्षण गराएका छन्। उनका अनुसार, उद्योग सञ्चालनका लागि आवश्यक उपकरण, प्यानल, चिलर, कम्प्रेसर, बोयलर, पाइपलाइनजस्ता सामग्रीमा चर्को भन्सार शुल्क लाग्ने तथा मूल्य अभिवृद्धि कर (VAT) का कारण लागत उच्च हुने समस्या छ।

त्यस्तै, विदेशमा एउटा औषधिको उत्पादन गर्न सक्ने स्वदेशी उद्योग भएमा त्यस्तो औषधिको आयात रोक लगाउने नीति हुन्छ। तर नेपालमा भने एउटै प्रकारको औषधि उत्पादन भइरहेकाबेला पनि त्यही औषधिका लागि धेरै विदेशी कम्पनीलाई अनुमति दिइन्छ। यसले स्वदेशी कम्पनीलाई बजारमा टिक्न निकै गाह्रो बनाएको ठाकुरको भनाइ छ।

अर्को समस्या भनेको स्वास्थ्य बीमाले समयमा भुक्तानी नगर्दा अस्पताल र मेडिकल कलेजहरूले फार्मेसीबाट औषधि उधारोमा लिने र त्यसको पैसा समयमा नपाउने अवस्था हो। यसले औषधि उद्योगलाई थप दबाबमा पारिरहेको छ।

भविष्यको योजना

‘एलेक्सा लाइफसाइन्सेज’ले नेपालमै उत्पादन गरिएका उच्चस्तरीय औषधिहरूलाई विदेशमा समेत निर्यात गर्दै जाने योजना बनाएको छ। समयसापेक्ष प्रविधि र उत्पादन पद्धति अनुसार अगाडि बढ्दै, अन्तर्राष्ट्रिय मापदण्ड प्राप्त गर्ने लक्ष्य उद्योगको रहेको अध्यक्ष ठाकुर बताउँछन्।

नेपालजस्तो देशमा यति ठूलो लगानीमा उद्योग स्थापना गर्नु आफैंमा चुनौती थियो तर हाम्रो उद्देश्य स्पष्ट छ—नेपालमै उच्च गुणस्तरको औषधि उत्पादन गरेर नागरिकलाई सुरक्षित औषधि उपलब्ध गराउनु, रोजगारी सिर्जना गर्नु, र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउनु रहेको ठाकुर बताउछन । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला । धन्यवाद ।