काठमाडौं, बैशाख ७ – नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्व पौडेलले आज बिहान सर्वोच्च अदालतमा पद तथा गोपनीयताको शपथ लिएका छन्। सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले उनलाई शपथ गराएका हुन्।
गभर्नर चयनका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले डा. पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को मंगलबार साँझको बैठकले तीमध्ये डा. पौडेललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।
को हुन् डा. पौडेल?
डा. विश्व पौडेल नेपालको आर्थिक नीति निर्माणमा झण्डै दुई दशकदेखि सक्रिय छन्। उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् र सरकारको बजेट नीति, आर्थिक सुधार, सार्वजनिक खर्चको पारदर्शिता र वित्तीय अनुशासनमा उनी विशेष दक्ष मानिन्छन्।
उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक संस्थासँग काम गर्दै नेपालको वित्तीय प्रणालीलाई सबल बनाउन महत्वपूर्ण योगदान पुर्याएका छन्। अब राष्ट्र बैंकको नेतृत्व सम्हाल्दै उनले मुद्रास्फीति नियन्त्रण, मौद्रिक नीति सन्तुलन, डिजिटल बैंकिङको प्रवर्द्धन र वित्तीय पहुँच विस्तारमा काम गर्ने अपेक्षा गरिएको छ।
गभर्नरको रूपमा डा. पौडेलको अनुभव र दृष्टिकोणले मुलुकको अर्थतन्त्रलाई स्थायीत्वतर्फ डोहोर्याउने विश्वास गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला । धन्यवाद ।