बहराइनमा मृत्यु भएका श्रमिकको बिमा घोटाला: विराटनगरका इन्स्योरेन्स म्यानेजर पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर: वैदेशिक रोजगारीका क्रममा बहराइनमा मृत्यु भएका श्रमिकको बिमा रकम ठगी प्रकरणमा मोरङ प्रहरीले विराटनगरका इन्स्योरेन्स कम्पनीका शाखा प्रबन्धकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, विराटनगर शाखाका ३९ वर्षीय सन्तोष अधिकारी रहेका छन्।

मोरङ प्रहरीका अनुसार केराबारी गाउँपालिका–९ देवीझोडाका ३७ वर्षीय नईन्द्र विश्वकर्मा २०८० मा रोजगारीका लागि बहराइन गएका थिए। गम्भीर मृगौला रोगका कारण स्वदेश फर्किएका उनी उपचारकै क्रममा निधन भएका थिए।

उनकी पत्नी भीमकुमारी विश्वकर्माले पाउनुपर्ने १३ लाख रुपैयाँको बिमा दाबीमा म्यानेजर अधिकारीले ठगी गरेको खुलेको छ। अनुसन्धानका क्रममा अधिकारीले विभिन्न कागजातमा सहीछाप गराएर भीमकुमारीलाई चेकबुकमा हस्ताक्षर गराएका थिए। त्यसपछि ग्लोबल आईएमई बैंकमा एकल र संयुक्त खाता खोल्न लगाई रकम हिनामिना गरिएको थियो।

१३ लाखमध्ये ५ लाख ७६ हजार मात्रै भीमकुमारीलाई दिइएको र बाँकी रकमको हिनामिना गरिएको खुलासा भएको छ। यसपछि भीमकुमारीले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

अनुसन्धानमा अधिकारीले भीमकुमारीको नाममा वार्षिक ७० हजार रुपैयाँको १५ वर्षे जीवन बिमा योजना खडा गरी आर्थिक भार थपिएको खुलेको छ।

त्यस्तै, मृतकका आफन्त प्रतिक विश्वकर्मा र पहिलो पत्नी मिरा विश्वकर्माको नाममा क्रमशः ५१ हजार र ७० हजार रुपैयाँको नयाँ बिमा गराएर रकम दुरुपयोग गरिएको पाइएको छ।

प्रहरीका अनुसार अधिकारीले भीमकुमारीको नाममा ६ लाख ४४ हजार १७८ रुपैयाँको ‘फिक्स्ड डिपोजिट’समेत राखिदिएको र त्यसलाई समेत आफ्नो स्वार्थका लागि प्रयोग गरेको पुष्टि भएको छ। यस घटनामा आपराधिक विश्वासघात र ठगीसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान जारी रहेको मोरङ प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला । धन्यवाद ।